वयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न सकिने : पूर्व उपप्रधानमन्त्री रावल ।।

   View More
    February 12, 2020

३ माघ अछाम ।  पूर्व उपप्रधानमन्त्री, गृह, रक्षा मन्त्री एवमं अछाम क्षेत्र नं. १ बाट प्रतिनिधी सभामा निबार्चित साँसद भिम रावलले बयालपाटा अस्पतालले दिईरहेको सेवा एकदमै प्रशंसा गर्न योग्य रहेको भन्दै अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभएको छ ।

जिल्ला समन्वय समिती अछामको संयोजनमा बयालपाटा अस्पतालमा भएको सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै रावलले अस्पताललाई दीर्घकालिन रुपमा संचालन गर्न स्थानिय, प्रदेश तथा संघिय सरकारको लगानी थप गर्न आफुले सहयोग तथा पहल गर्ने बिश्वास दिलाउनु भयो ।

एक अर्को प्रसंगमा बोल्दै पूर्व मन्त्री रावलले अस्पताल जस्ता अत्यावश्यक संस्थाहरुलाई सरोकारवालाहरुले सहयोग र संरक्षण गर्नुपर्ने एवम् अस्पतालले पनि कर्मचारी नियुक्तिका बिषयमा अछाम जिल्लालाई बिषेश प्राथमिकता दिदैँ निश्पक्ष र पारदर्शिता कामय गर्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शेरबहादुर कुवँरले बयालपाटा अस्पतालले अछाम संगै छिमेकी जिल्ला बाजुरा, डोटी, दैलेख कालिकोट र मुगका समेत बिरामीलाई निशुल्क सेवा प्रदान गरेकोमा धन्यवाद दिदैँ सेवालाई थप प्रभावकारी रुपमा संचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।  जिल्ला समन्वय समिती अछामका प्रमुख नरबहादुर कुवँरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले अस्पतालले संचालन गर्ने कार्यक्रम तथा सेवाका बारेमा आम नागरिकलाई जानकारी गराउनुका साथै हरेक निकायसंग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका जन स्वास्थ्य अधिकृत रमेश कुवँरले अछाम जिल्ला स्वास्थ्यमा नेपालकै उत्कृष्ट जिल्लामा पर्नुको पछाडी बयालपाटा अस्पतालको ठूलो योगदानको प्रशंसा व्यक्त गर्नुभयो । अस्पतालको सेवालाई थप मजबुद बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनु भएको थियो । बयालपाटा अस्पताल सामुदायिक अवधारणको अस्पतालको रुपमा संचालन भएकाले कर्मचारी नियुक्ति तथा अन्य कार्यक्रमहरु पनि सरकारी मापदण्ड अनुसार नै अगाडी बढाउनुपर्ने सुझाव दिनुभयो ।

अन्तरक्रियामा सहभागीहरुले सुझाव दिदै अस्पतालको सेवा अछाम लगायत यस क्षेत्रका जनताका लागि बरदान नै साबित भएकोमा खुसी व्यक्त गरेका थिए । साथै संस्थाले गर्ने कर्मचारी भर्ना प्रक्रियामा पारर्दिर्शताको सुनिश्चिता गर्दै जिल्ला प्रशासन तथा जिल्ला जन स्वास्थ्य कार्यालयको सहभागिता गराउनुपर्ने, अस्पतालबाट प्रवाह हुने सेवाको बारेमा सरोकारवालाहरुलाई बेला बेलामा जानकारी गराउनुपर्ने, सामुदायिक स्वास्थ्य कार्यक्रमलाई जिल्लाका अन्य गाँउ तथा नगरपालिकामा संचालन गर्नुपर्ने, सकेसम्म चौमासिक नभए बार्षिक रुपमा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई गर्नुपर्ने सुझाव दिएका थिए ।

यस्तै अस्पताल बिदेशी दाताहरुमा मात्र निर्भर नभई स्थानिय, प्रदेश तथा संघीय सरकारको प्रत्यक्ष लगानीमा दीर्घकालिन रुपमा संचालनका लागि सहयोग जुटाउन तर्फ समेत केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।  साथै जिल्लाका संचारकर्मीहरुले पनि अस्पताल आगामी दिनमा थप संचारमैत्री बन्नुपर्ने सुझाब दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा सहभागिका सुझाब मनन् योग्य रहेको उल्लेख गर्दै न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एसपी कलौनीले अस्पतालको विकासको निम्ति सहभागीहरुबाट प्राप्त रचनात्मक सुझावहरुका लागि धन्यवाद ज्ञापन गर्नुभयो । यसका साथै अस्पतालको गुणस्तरीयतालाई कायम गर्दै यसको दीगो रुपमा निरन्तरताका निम्ति नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न र स्थानिय, प्रदेश, र केन्द्र सरकारबाट अस्पतालको सञ्चालन खर्चका निम्ति वार्षिक वजेट विनियोजन गर्न सरोकारवालाहरु संग अनुरोध गर्नुभयो ।

अस्पतालका बिभागिय प्रमुख कर्मचारीहरुले पनि सहभागीहरुका प्रश्नको जवाफ दिनुका साथै अस्पतालले प्रदान गर्ने सेवा तथा कार्यक्रम थप प्रभावकारी बनाउनेमा विश्वास दिलाएका थिए ।  नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग भएको सम्झौता अनुरुप सरकारी गैर सरकारी अवधारणमा न्याय हेल्थ नेपाल द्धारा संचालित बयालपाटा अस्पतालले आर्थिक बर्ष २०७४।७५ मा प्रवाह गरेका सेवा, कार्यक्रम, तथा भावी योजनाका बारेमा जानकारी दिन सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो ।

सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला स्थित नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधी, पार्टी प्रतिनिधी, संचारकर्मी तथा सेवाग्राही लगायतको सहभागिता रहेको थियो ।